कवि प्रकाशजी खारिएको विचार, माझिएको कलम , फक्रिएको सृजनसिलताको त्रिवेणी हो । जसरी पोसिलो आहार जति चपायो त्यतिनै स्वादिलो हुन्छ त्यस्तै उहॉका रचनाहरु पनि सरल तर खदिला छन जति पटक पढ्दै गयो त्यतिनै गहन र रसिला । डेनमार्क विमोचन समारोहमा सहभागी हुने अवसर मिल्यो त्यहॉ केही कविताहरु श्रवण र पठन भयो, केही चर्चा परिचर्चा टिप्पणीहरु गरियो । पछि फेरी एक सरी सरो पुरै संग्रह हेरियो झनै मिठो लाग्यो । बधाई छ प्रकाश जी आफ्नो सृजनात्मक कर्ममा लागिरहनुस हार्दिक शुभकामना !
- कृष्ण पौडेल
प्रकाशजीको कविता संग्रह ‘सान्नाटाका सुस्केरा ‘ पढियो । कविता के पढाई हुन्थ्यो र गुन्गुनाइयो । गत सप्ताहान्तमा केहि जिज्ञासुका आम्ने-साम्ने छोटो मन्थन गरियो । भलिभाँती लाउन अलि जान्ने भएर जानु पर्दो रहेछ, त्यस्तो हुन सकेन । कवि रहरले बनिदो रहेन्छ, त्यसको निम्ति कम्तिमा पनि काव्यिक चेतले ओतप्रोत हुनु पर्दो रहेछ । काभ्रेमा कखरा पढेर, काठमान्डुमा अलि ठूला कविहरु जम्ने ठाउँमा उच्च शिक्षा आर्जन गरि बिगत केहि वर्षदेखी डेनमार्कको कोपन्हेगनलाई कर्मथलो बनाएका कवि ‘प्रकाश सापकोटाले यूरोपको व्यस्त दैनिकीका बाबजूद जन्माएको ‘सन्नाटाका आवाज ‘ बजारका पुस्तक पसलहरुमा खोजीखोजी पढिने स्तरको रहेछ भन्न कुनै धक मान्न पर्दैन। बाहिरी पातोमा सन्नाटा भए पनि भित्र उथल पुथल छ,गरमा गरम छ। कोलाहल छ। अझ भन्नु पर्दा असीन पसीन छ। बिद्रोह त यसै पनि छ,अलावा गुम्सिएको उकुस-मुकुस छ। निकाश स्वयम् कविलाई पनि थाहा मरु ! घरको सडकको, देशको, परदेशको, अस्पतालको, अनि भात खानेको, भुजा हसुर्नेको र ओखती खान नपाउनेको ,मौसुफको,तिम्रो मेरो अनि हामी सबैको कथा,व्यथाको पोको हो सापकोटाको कृति। राजनीति गर्नेहरुको फलिफाप भएको देखेर कविले पनि ‘आऊ पार्टी खोलौं ‘ भन्दै लल्कारेका छन्। यूरोप छिर्दा कम्ता चिसो थिएन होला ! नर्वेको चिसोबाटै ताता कविता लेख्ने जमर्को गरेका कविले ,डेनमार्क छिरेपछि बल्ल आफ्नो योजनालाई मूर्त रुप दिने मौका पाए। नेपाली साहित्याकाशमा एक चाङ्ग थपिएको सरल, सहज र पठनीय कृति अब हामी सबैको हक लाग्ने भएको छ। कवि सापकोटालाई बधाई छ। पुन: यस्ता जिउँदा जाग्दा कविता पढ्न पाइयोस्।
- उदयराज गौतम
कवि प्रकाश सापकोटाको नँया कविता संग्रह ‘सन्नाटाका सुस्केरा’को विमोचन कार्यक्रममा उपस्थित हुने अवसर जुट्यो। हार्दिक बधाई तथा शुभकामना कवि अनि कविता संग्रहलाई !
सन्नाटाका सुस्केरा एक बहुआयामिक कविता संग्रहका रुपमा आएको छ। कुनै एक विषयमा मात्रै आफूलाई सिमित नराखी सामाजिक आर्थिक राजनीतिक लगायत विविध बिषयलाई समेट्ने भरपुर प्रयास गरेको पाईन्छ जसले विविध रुची भएका पाठकहरुलाई कवितामै समाहित गर्दै लग्छ।
शिर्षक जस्तै पुस्तकमा आफ्ना रचना मार्फत कविले पाठकहरुलाई कतैकतै एक निश्तब्ध सन्नाटाभित्र धकेलिदिएको महसुश हुन्छ। आमाको रोदन बाबुका अश्रु मिश्रित सुस्केराहरु छरपस्ट पोखिएका छन्। निशब्ध सन्नाटाहरुलाई चिर्दै कवि बिद्रोह बलिदान अनि क्रान्तिकारी खबरदारी गर्दै अगाडी बढेको गज्जबले पाउन सकिन्छ।
सन्नाटाका सुस्केरा केवल एक कविता संग्रह मात्रै होइन, यो त कविता भित्रको कथा पनि हो। बाकसभरि सपनाका कोसेलीहरु ल्याउँछु र तिनीहरुलाई आमाकै अगाडी फूलसरि सजाउँछु भन्ने त्यो नवयुवक बन्द बाकसमै ढलेको देख्ने ती बुढी आमाको कालो सन्नाटा मात्रै होइन मुर्छित अवस्थाको बेदना हो । रोदन हो ।
कविताहरु छोटा छन्, सरल छन् र त रसिला छन् । सन्नाटामा लुकेको आवाज शक्तिशाली हुन्छ र यो कविता संग्रह त्यसैको प्रतिविम्ब हो ।
कवि प्रकाश सापकोटालाई हार्दिक बधाई !
- कृष्ण सागर
एउटा कविले दु:ख,सुख,बिद्रोह,व्यंग लाई शब्द मार्फत यसरी श्रृजना पस्कन सक्नु आफैमा उत्कृष्ट छ।
शुभकामना Procash Sapkota जी !!
हामी साहित्य,सृजना र समाजका लागि संगै छौं।
पुस्तक विमोचनमा केही समय छुट्याएर समालोचक को भुमिकामा बोल्ने मौका दिनुभयो त्यसको लागि हार्दिक नमन।
• नील बिक्रम थापा




Leave a Reply