शब्दको सारथी

Advertisement

हजुरबाले किनिदिएको स्विटर

हजुरबा कतै नातागोताकहाँ जाँदा मलाई सँगै लिएर हिँड्न मन गर्नुहुन्थ्यो। मलाई पनि हजुरबाको साथमा हिँड्न रमाइलो लाग्थ्यो।

ठ्याक्कै मिति बिर्सेँ। हजुरबा बिहानै हाम्रो घरमा ठाँटिएर आइपुग्नुभो। बुवाहरू भिन्न भएकाले हजुरबा-हजुरआमा अङ्कलसँग बस्नुहुन्थ्यो। मलाई देख्दासाथ भन्नुभो- बावु, पर्वततिर जाउँ तँ र म, जान्छस् ? पाँचखाल उपत्यकालाई हजुरबाहरू ‘पर्वत’ भन्नुहुन्थ्यो, किन हो थाह छैन ! पाँचखालतिर हजुरबाकै चारवटी छोरीका घर अनि अरू पनि आफन्तहरू थिए। छन् ।

स्कुल बिदा थियो। बर्खे बिदा हो कि जस्तो लाग्छ ! हजुरबाले लैजाने भएपछि म जान तयार थिएँ, तर घरको नियम पुर्याउन ‘बुवालाई सोध्दिनोस् न’ भनेँ। बुवाले पनि पठाउने हुनुभो । पाँचखाल उपत्यका दिउसो तातो हुने भए पनि हुस्सुले ढाक्ने बिहानहरू चिसो हुने र बिरामी पर्न सक्ने कुरामा सचेत गराउँदै पनौती-बनेपातिर बजारमा एउटा स्विटर किनेर लगाइदिनू भन्दै कुन्नी कति रूप्याँ हजुरबाका हातमा राखिदिनुभो । ‘एउटा स्विटर किन्ने पैसा त मैसँग नि थियो…’ भन्दै हजुरबाले इष्टकोटको भित्री गोजीमा पैसा हाल्दाहाल्दै म हतारहतार उम्किएर तयार भइहालेँ।

हजुरबाहरूको कपडा किन्ने एउटै विशेष र स्थाई पसल हुन्थ्यो। बनेपा पुगेपछि उहाँले सधैँ किन्ने गरेकै साहुजीकहाँ स्वीटर किन्न लैजानुभो। ती साहुजीकहाँ भएका मध्ये सबैभन्दा सानो स्वीटर मलाई लगाएर ट्राइ गर्नुभो। स्वीटर ठूलो भइरहेको थियो। साहुजीले व्यापारी जुक्ती लगाइहाले- ल ठिक्क भयो, कस्तो चिटिक्क सुहायो ! ‘बाहुला लामो भो नि, हजुरबा’ भनेँ । हजुरबाले ‘यो भन्दा एक साइज सानो छैन साहुजी’ सोध्नुभो। साहुजीले अझै स्वाङ पारे- ‘बढ्ने उमेरको मान्छेलाई अलिकति ठूलो त चाहिन्छ नि, दुइ-तीन महिनामा कस्सियो भने के काम ?’ हजुरबा साहुजीको कुरा पत्याएर ‘त्यो त हो’ भन्न थाल्नुभो। ठिक सामुन्नेको पसलको ढोकैमा झुण्ड्याएको स्वीटर मलाई त्योभन्दा सानो होला जस्तो लागेर हजुरबालाई औँलाले देखाएँ। बाठो साहुजीले अझ दिमाग लगाए- त्यो गतिलो ऊन होइन, यो ऊन त तातो उस्तै बलियो उस्तै ! भोलिपर्सी देखि यो क्वालिटीको स्वीटरै पाइन्न अब बजारमा ! सधैँ मेरोमा आइरहने बाजेलाई भनेर गतिलो चाहिँ देखाएको मैले झन् … … …

हजुरबालाई साहुजीले कुरैले लुटुपुटु पारे। त्यही लगाएर बाह्रबिसे बस चढियो। नयाँ स्वीटर पाएर दङ्ग थिएँ, तर जीउमा टपक्क नमिलेको भाङ्ग्रे स्वीटर लगाउँदा खासै सजिलो भएको चाहिँ थिएन। जे भएपनि नयाँ स्वीटरको मीठो बासनाको आनन्दले चित्त बुझेको थियो। दुइ-तीन महिनामा अलिक बढ्छु होला अनि टिमिक्क सुहाउँछ होला भन्ने अनुमानको आनन्द पनि लिइरहेको थिएँ।

त्यो दिन हजुरबाले तामाघाटमा ओरालेर होक्से, शिखरपुरतिर लैजानुभो। त्यहाँ दुइजना फुपूहरूको घर छ। दुइटीका घर नजिक नजिकै हुनाले साँझको खाना एउटीकोमा खाएर सुत्न अर्की फुपूकोमा गएको याद छ।

भोलिपल्ट बिहान सबेरै हजुरबाले नै उठाउनुभो मलाई। तात्तातो एक-एक गिलाँस दुध पिएर हजुरबाकै योजना अनुसार निस्किइयो। तामाघाटसम्म पैदल र त्यहाँबाट मेलम्चीको बस चढ्यौँ। अघिल्लो साँझ नै हजुरबाले फुपाजुसँग भनेको सुनको थिएँ- भोली बिहानै देउपुर जाने हो। पाँचखालसम्म त्यसअघि नै एक वा दुइपटक गएको भएपनि लामिडाँडा कटेर उता गएको थिइन म। त्यसैले उत्साहित पनि थिएँ। सिखरपुरदेखि तामाघाटसम्म हिँड्दा बाटोमा हजुरबाले भन्नुभो- ‘देउपुरमा मेरी माइली दिदीको घर छ, एकदिन त्यहाँ बसौँला ! तल सिपाघाट बजारमै छोरी (हजुरबाकी भाइकी छोरी) छिन्, उनकहाँ नगए नि रिसाइहाल्छिन्। दुइदिन त्यता बसेपछि फर्किँदा लाम्डिही (माइली फुपूकहाँ) पसेर बेलुका खावा उक्लेर त्यहाँ (सानी फुपूकहाँ) बस्नुपर्ला, अनि घर फर्कौँला।’

तामाघाटबाट मेलम्चीको बस चढ्यौँ। बस खचाखच थियो। हजुरबालाई ‘बुढो मान्छे बस्नोस्’ भनेर अलिक परतिर झर्ने एकजनाले सिट छोडिदिए। म ठेलमठेलमा उभिएको थिएँ। हिजो किनेको तातो स्वीटर अनि मान्छेमाथि मान्छे थपिएर गुम्सिएको बसको यात्रा असहज हुन थाल्यो। जिरोकिलो कटेपछि सहचालक चिच्यायो- ल, अब छतमा पनि बस्न मिल्छ है। कोही छ छतमा जाने ? म जस्तै उकुसमुकुस भएका अरू पनि थिए। एक पछि अर्को गर्दै उभिएका जति सबैजसोले छतमा जाने इच्छा सुनाए। वनको छेउमा बस रोकियो। मान्छेहरू छतमा चढ्न थाले। अब त तल पनि खुकुलो हुँदै थियो, तर मलाई चाहीँ नयाँ ठाउँको यात्रा भएकोले चारैतिर हेर्दै जान मजा आउने कुराले छतमा जान मन लाग्यो। हजुरबालाई इच्छा सुनाएँ। हजुरबाले नगैदिए हुने जस्तो पनि गर्नुभो, फेरी मेरो आग्रहपूर्ण हेराइलाई नकार्न पनि सक्नुभएन।

म ढोकाबाट निस्कन लाग्दा हजुरबा कराउनुभो- खलासीलाई ढाँडखोला-सिपाघाट झर्ने हो भन्नु है, भाडा माग्यो भने तल बा छन् भन्नू ! ‘हस्’ भन्दै म अघिल्लो यात्रीको सिको गर्दै ढोकैनिरबाट झ्यालमा टेकेर छतमा चढेँ। गाडी अगाडि बढ्यो। प्रत्यक स्टपमा बस रोकिँदा म साइनबोर्ड पढ्थेँ र झर्ने स्टप आइपुगेको छैन भनेर यकिन गर्थेँ।

ढाँडखोला (सिपाघाट)भन्दा अघिल्लो स्टप रहेछ- हिँगुवापाटी। मैले साइनबोर्ड पढेर त्यो ठाउँ थाह पाइसकेको थिएँ र सिपाघाट झर्ने अर्का एक यात्री मेरै छेउमा रहेछन् भन्ने पनि त्यतिन्जेलमा थाह पाइसकेको थिएँ। त्यसैले निर्धक्क बसेको थिएँ। तल सिटमा बस्नुभएको हजुरबाले अर्को स्टपमा झर्नुपर्छ भनेर मलाई थाह नहोला भन्ठानेर तलै बोलाउन फुत्त बसबाट बाहिर निस्कनुभएछ। हजुरबाले ‘बावु’ भनेर बोलाएको सुनेर घाँटी तन्काउँदै थिएँ, बस गुडिहाल्यो। ‘ए, रोक रोक’ भन्दै हजुरबा कराउनु त भयो, तर ओरालो गुडेको बस रोकिएन। हजुरबाको आवाज टाढा टाढा हुन थाल्यो, उहाँले हल्लाएको हात मात्र देख्दैथिएँ म। हातको त्यो इशाराले हजुरबाले ‘जा जा अर्को स्टपमा झर्नू , म हिँड्दै आउँछु’ भन्नुभएको रहेछ। मैले ‘झर्, आइज’ भन्नुभएको जस्तो बुझेँ। छतमा बसेका अरूले पनि त्यही बुझेर होला ‘ए बस् रोक्देऊ, याँ मान्छे छुट्यो’ भनेर कराइदिए। अलिक तल घुम्ती पछिको तेर्सो बाटोमा पुर्याएर चालकले गाडी रोकिदिए। म हतार हतार ओर्लिएँ र हजुरबा तिर दौडिएँ।

दौडिँदा पनि हिँगुवापाटी पुग्न मलाई दश-बाह्र मिनेट लाग्यो। हजुरबा अघिनै हतारिएर छोटो बाटो हुँदै सिपाघाटतिर दौडनुभएछ, म हिगुवापाटी पुगेर सोधिखोजी गर्दा हजुरबा भेट्टिनुभएन। अब म हराएँ। रोएँ। अन्जान मानिसहरूले मलाई सम्झाइ-बुझाइ गरे। ‘भोकै नबस्नू’ भन्दै कसैले बिस्कुट, पाउरोटी किनेर दिए कसैले ‘जे मन लाग्छ किनेर खानू’ भन्दै अलिअलि पैसा दिए।

त्यो दिनभर म एकातिर हजुरबालाई खोजिरहेँ। हजुरबा अर्कैतिर मलाई खोजिरहनुभएछ । गजबको सन्जोग र नाटकीय रोमाञ्चक तरिकाबाट बेलुका हजुरबा र मेरो भेट भयो। दिनभरको त्यो घटनाको बेलिबिस्तार यहाँ धेरै लामो हुनजान्छ, र त्यसको बेग्लै रोमाञ्चक पाटो भएकाले त्यो पछि छुट्टै लेखूँला !

फर्किँदा हजुरबाले खोइ किन योजना बदल्नुभयो ! हजुरबाले भन्नु त भएन, तर मेरो अनुमानमा म हराएपछिको हैरानीले हजुरबालाई बाँकी घुमफिर र भेटघाट गर्दै फर्कने मनको चाह नै मरेर गयो कि ! लाम्डिही र खावा नपसी बसको झ्यालबाटै फुपूहरूका गाउँवस्ती हेर्दै हामी घरतिरै फर्कियौँ । दुइ दिनपछि घर फर्किँदा पनौतीमा केही किनमेल गर्ने भन्दै हजुरबा एउटा पसलमा छिर्नुभयो। त्यही मौकामा म ‘एकैछिनमा यहीँ आउँछु है हजुरबा’ भन्दै फुत्त निस्किएँ। पहिला पनि फोटो खिचेको भरत दाइको फोटो स्टुडियो अल्लि पर थियो। त्यहीँ गएँ । हजुरबाले ‘जाडो लागे कान छोप्नू’ भनेर दिनुभएको फेटा मैसँग थियो। स्वीटरलाई अलिक टिमिक्क पार्नलाई त्यही फेटा कम्मरमा बाँधेँ । अनि हजुरबालाई थाहै नदिई यो फोटो खिचाएँ। ‘किन?’ भन्नलाई कारण पनि छैन तर, यो फोटो हजुरबालाई कहिल्यै देखाइन।

हो, यो त्यही फोटो हो।

Website |  + posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *