शब्दको सारथी

Advertisement

नेपाली चलचित्रलाई ऐतिहासिक अन्तर्राष्ट्रिय सफलता

फ्रान्समा सम्पन्न ७९औँ कान्स फिल्म फेस्टिभल २०२६ मा नेपालका अभिनाश बिक्रम शाहद्वारा निर्देशित ‘Elephants in the Fog’ ले ऐतिहासिक सफलता हात पारेको छ । 

फेस्टिभलको प्रतिष्ठित ‘Un Certain Regard’ सेक्सनमा छनौट हुने पहिलो नेपाली फिचर फिल्मको रूपमा यसअघि नै इतिहास रचिसकेको सो चलचित्रले  Jury Prize जित्दै नेपाली सिनेमाका लागि ऐतिहासिक सफलता हासिल गरेको समाचार छ । 

नेपाली फिल्मले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार पाएपछि फेस्टिभलमै प्रत्यक्ष सहभागी काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले सो ऐतिहासिक उपलब्धिप्रति खुसी व्यक्त गर्दै नेपाली चलचित्र क्षेत्रका लागि यो अभूतपूर्व गौरवपूर्ण क्षण भएको बताएकी छिन् ।

‘अन सर्टेन रिगार्ड’ सेक्सनमा वर्ल्ड प्रिमियर गर्दा फिल्मको क्लाइमेक्स सकिएपछि हलभरिका दर्शकले करिब ८ मिनेटसम्म उठेर ताली बजाउँदै (standing ovation) सो फिल्मलाई सम्मान जनाएका थिए । सो सम्मान लगत्तै प्रसिद्ध बलिउड निर्देशक अनुराग कश्यपले सामाजिक सञ्जालमा लेखेका थिए- ‘यस वर्ष कान्समा मैले देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य यही फिल्ममा छ । Elephant in the Fog मार्फत नेपाली फिल्मले विशाल छलाङ मारेको छ ।’ अभिनेत्री पुष्पा थिङ लामाको अभिनयलाई पनि उनले निकै शक्तिशाली भनेका थिए ।

नेपालको किन्नर (ट्रान्सजेन्डर) समुदायको कथा प्रस्तुत गरेको ‘Elephants in The Fog’ छानिएको ‘अन सर्टेन रिगार्ड’ विधा उक्त फेस्टिभलको मुख्य प्रतिस्पर्धापछिको प्रमुख मानिने प्रतिष्ठित विधा हो । ‘अन सर्टेन रिगार्ड’ ले युवा निर्देशक र फरक कथा वाचकहरूलाई समेट्ने गर्दछ ।

नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको सहकार्यमा बनेको यो पहिलो नेपाली फिचर फिल्मको स्कृप्टले निर्माण अगावै विश्वका बिभिन्न फेस्टिभलहरुबाट समेत पुरस्कारहरु जितिसकेको छ । निर्माण सुरु नहुँदै यो फिल्म भेनिसको स्कृप्ट मार्केट र सनडान्सको स्क्रिप्ट ल्याबमा छनोट भइसकेको थियो भने ‘सरफन्ड’ अर्थात् नर्वेजियन साउथ फिल्म फन्डबाट सन् २०२४ मा ६ लाख नर्वेजियन क्रोनर ( झण्डै ७६ लाख नेपाली रुपैयाँ ) को सरफन्ड ग्रान्ट समेत जितेको थियो ।

गौरी मल्ल, माओत्से गुरुङ, आकांक्षा कार्की, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, सञ्जय गुप्ता दुरा, महिमा नवबाग लगायतका कलाकारहरूको अभिनय रहेको सो फिल्म अण्डरग्राउन्ड टकिज नेपाल र जयन्ती क्रियसन्सको सहकार्यमा निर्माण भएको हो । 

यसअघि सन् २०२२ को कान्समा पनि अभिनाशकै लघु चलचित्र ‘लोरी’ छनोटमा परेको थियो । कान्सको उक्त ७५ औं संस्करणमा ‘लोरी’ ले ‘स्पेसल मेन्सन अवार्ड’ जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *