शब्दको सारथी

Advertisement

यस्तो भयो संसदको पहिलो बैठक


संघीय संसदको पहिलो बैठक चैत्र १९ गते बिहिबार शुरू भयो । 

पहिलो बैठक लगभग १ घण्टा ५४ मिनेट चल्यो । 

बैठकको अध्यक्षता प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका हैसियतले अर्जुन नरसिँह केसीले गरे ।

बैठक शुरू हुनासाथ एमालेका सांसदहरू उठेर बोल्ने समय मागे ।

शुरूमा अध्यक्षले बसेर सभा सञ्चालनलाई सहज बनाउन अनुरोध गरे पनि एमाले सांसदहरू बस्न नमानेपछि एमाले सांसद गुरू बराललाई अध्यक्षले दुई मिनेटको समय दिए । तर बरालले झण्डै ५ मिनेट बोले । उनले विशेषत: पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको जोडदार माग गरे । उनको भनाइ सुनिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पटक-पटक मुसुमुसु हाँसे ।

रास्वपा सभापतिलाई बोल्न दिइएको २५ मिनेटको समयमा उनले १२ मिनेट १३ सेकेण्ड भित्र लिखित मन्तव्य राखी भ्याए ।

काँग्रेस सांसद भीष्मराज आङ्दाम्बेलाई १० मिनेट समय तोकेर बोल्न दिइएकोमा उनले १४ मिनेट बोले । 

एमालेका सांसद रामबहादुर थापा (बादल)ले पाएको ८ मिनेटमा ६ मिनेट मात्रै बोले । सरकारको आलोचना गर्दै बोलेका बादलले भदौ २३ र २४ को जेन्जी आन्दोलनमा टीओबी लेखिएको लुगा लगाएर आन्दोलनमा आएकाहरूबारे प्रश्न उठाउँदा गृहमन्त्री सुधन गुरूङ्गले मुख र हातको हाउभाउले ‘के बोल्या होला’ आशय व्यक्त गरेको संकेत मिल्दथ्यो ।

७ मिनेट समय पाएका नेकपाका सांसद वर्षमान पुनले ५५ सेकेण्ड बढी बोले । 

७ मिनेट समय पाएका श्रम संस्कृति पार्टीका हर्कराज राईले संसदमा सत्तापक्ष र प्रतिपक्षलाई छुट्याइएको समयको भेदभावलाई कटाक्ष गर्दै बोल्न शुरू गरेर जम्मा ११ मिनेट २० सेकेण्ड समय लिएका थिए । सपथ ग्रहण तोकिएको समयभन्दा १२ मिनेट ४६ सेकेण्ड ढिलो र पहिलो संसद अधिवेशन तोकिएको समयभन्दा १६ मिनेट ५५ सेकेण्ड ढिलो भएको भन्दै समयको पालना गर्न सिक्नुपर्ने तर्क राखे । 

त्यस्तै ७ मिनेट समय पाएका राप्रपाका ज्ञानबहादुर शाहीले १० मिनेट २२ सेकेण्ड बोले । प्रायः सरकारलाई सघाउने आशयमा बोलेका उनले सिटमा फर्कँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डा. स्वर्णीम वाग्ले लगायतलाई झुकेर नमस्कार गरेका थिए ।  

५ मिनेट समय पाएका स्वतन्त्र सांसद महाविर पुनले अध्यक्षले दुई पटक समय सकिएको जानकारी दिँदा पनि ‘सकिन लाग्यो’ भन्दै भन्दै ९ मिनेट ३६ सेकेण्डसम्म बोले । उनी रोष्टम चढ्दा प्रधानमन्त्री बालेन लगायत धेरै सांसदहरू मस्तले मुस्कुराएका थिए । उनको संबोधनका बिच-बिचमा पनि रास्वपा सभापति रवि लामिछाने लगायत मुसुमुसु हाँसिरहे । उनले उठाएका कतिपय विषयमा सरकार पक्षका सांसदहरूले टेबुल ठोकेर समर्थन पनि गरे ।

अधिकांश सांसदहरूले लेखर ल्याएको मन्तव्य नै पढे । तर धेरैजसोले तोकिएको समयावधिभित्र सकिने गरी लेखेका रहेनछन् भन्ने देखियो ।

Website |  + posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *