शब्दको सारथी

Advertisement

अमेरिकामै अस्ताइन् हेम्जाकी प्रमिला


अमेरिका । अमेरिकाको सान फ्रान्सिस्कोमा विगत ४–५ वर्षदेखि घरबारबिहीन अवस्थामा रहँदै आएकी एक नेपाली युवतीको मृत्यु भएको दुखद खबर बाहिरिएको छ । सन् २०१५ को जनवरीमा विद्यार्थी भिसा (F1) मा अमेरिका पुगेकी हेम्जा, कास्कीकी प्रमिला त्रिपाठी भुर्तेल हालै मृतावस्थामा फेला परेको समाचार प्राप्त भएको छ । 

विद्यार्थी भिसामा मिनेसोटा स्थित विनोना पुगेकी प्रमिला केही समयपछि त्यहाँबाट टेक्सास स्थित ईर्भिङ्ग सरेकी र पछि सान फ्रान्सिस्को, क्यालिफोर्निया गएपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखिएको जानकारहरूले बताएका छन् । यसैबिच सन् २०२३ मा एक छोरा समेत जन्माएकी उनी मेडिकेयर इन्स्युरेन्सको १०० दिनको रिह्याब केयरमा बसे पनि सोको कभरेज सकिएपछि राम्ररी निको नहुँदै रिह्याब सेन्टरबाट निस्किएकी बुझिएको छ । 

प्रमिलालाई आफूले १०–१५ दिन आफ्नै घरमा राखेको र पुनः रिह्याबका लागि प्रयास गरे पनि असफल भएको बताउने क्यालिफोर्निया स्थित गैर आवासीय नेपाली संघका तत्कालिन अध्यक्ष हरि ओझाले अमेरिकामा रिह्याबले व्यक्ति आफैं बस्न सहमत नभएमा भर्ना नगर्ने भएकाले आफूहरूले थप  केही गर्न नसकेको उल्लेख गरेका छन् । यसबाट प्रमिला आफैँले रिह्याबमा पुनः बस्न अस्वीकार गरेको बुझिन्छ ।

घरबारविहिन भएपछि पनि पटक पटक केही नेपाली समुदायका घरमा तथा प्रमिलाकै चिनजाका आफन्तकहाँ बसोवासको प्रबन्ध गरिए पनि उनी त्यहाँबाट निस्कँदै सम्पर्क विहिन हुने गरेको जानकारहरू बताउँछन् । पछिल्लो समय पुनः उद्दारको प्रयास गर्दागर्दै पुनः सम्पर्कविहिन भएकी उनको दुखद निधनको खबरले नेपाली समुदाय स्तब्ध भएको छ ।

दिवङ्गत शरिरलाई अमेरिकामै दाहसंस्कार गरिदिन प्रमिलाको परिवारले आग्रह गरेकाले त्यहाँस्थित नेपाली समुदाय सामुहिक पहल र सहयोगमा जुटेका छन् । 

अमेरिकाको सान फ्रान्सिस्को क्षेत्रमा अझै आधा दर्जन हाराहारी नेपालीहरू घरबारबिहिन  अवस्थामा रहेका सामाजिक सञ्जाल मार्फत सुन्नमा आएकोले यस विषयमा सबै सम्बन्धित पक्षको समयमै ध्यान जान जरूरी रहेको कुरा अमेरिका निवासी अभय ढुङ्गेलले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ