विक्रम सम्बत २०५३/५४ ताका आरआरमा आईए (पत्रकारिता) पढ्न काठमाडौं छिरेपछिको कुरा हो यो । दिउँसो जागिर खोजेर खाने भनेर बेलुकीपखको क्याम्पस भर्ना गरियो । गाउँकै नवराज दाइको सहयोगमा विशाल बजारका मारवाडी गिरिधारी लालको अफिसमा जागिर पनि मिल्यो ।
थापाथली कुरियागाउँमा डेरा थियो । डेरामा म, निरञ्जन र ईश्वर (भोलानाथ) मिलेर बस्थ्यौँ । निरञ्जन र म उही क्याम्पसमा उही विषय पढ्न सल्लाहले सँगै काठमाडौं छिरेका । अनि ईश्वर चाहिँ सुन्धारामा अफिस भएको दूरसञ्चारमा प्राविधिकको जागिरे । जागिर सँगसँगै उनी बागबजारतिर कुनै इन्ष्टिच्युटमा नृत्य सिक्न पनि जान्थे । जागिर र पढाइ बाहेक हाँसखेल ठट्टा, अल्लारे गफ, आपसमा अलिअलि घोचपेच … यस्तै यस्तै पारामा दिनहरू बित्थे हाम्रा ।
ईश्वरले नृत्यको प्रशिक्षण लिँदालिँदै आफूले सिकेको नृत्य केटाकेटीलाई सिकाउन भन्दै ललितपुरको एकान्तकुना भन्दा अल्लि परतिर बागडोलमा अवस्थित एक आवासीय बोर्डिङ स्कुलमा बेलाबेलामा जान्थे । जागिरमा धेरैजसो कार्यालय बाहिरको काम पर्ने हुनाले बाहिर बाहिरै काम सकाएर उनी फुत्त-फुत्त त्यो स्कुलमा पुग्थे । उक्त स्कुलमा उनका माइला दाजु परशुराम (प्रकाश सर) भाइस प्रिन्सिपल थिए । भाइस प्रिन्सिपल त उनको पद मात्रै, लगभग जम्मै स्कुलको मुख्य मुख्य कार्यभार उनी आफैँले सम्हाल्थे । संस्थापक र प्रिन्सिपलका विश्वासपात्र उनी स्कुलका सबैजसो प्रशासनिक निर्णय आफैँले लिन्थे ।
दाजु संलग्न स्कुलमा भोलेन्टियर रूपमै फाट्टफुट्ट नृत्य सिकाउन जाँदाजाँदै ईश्वर पनि त्यहाँ राम्ररी घुलमिल भइसकेका थिए । निरञ्जन र मेरो पनि काम नहुँदा हामीलाई पनि लैजान्थे ।
परशुरामका भाइ र उनका साथी हामी जाँदा त्यहाँका प्रिन्सिपलदेखि स्टाफहरू सबैले राम्रो इज्जत गर्थे पनि । नखाई गएका बेला खाना खुवाउँथे, नत्र समय अनुसार चिया, खाजा । त्यसरी जाने-आउने क्रम बाक्लिँदा हामीलाई पनि सो स्कुल आफ्नै जस्तो लाग्ने भइसकेको थियो ।
यस्तैमा एक दिन ईश्वरले प्रस्ताव लिएर आए-‘काठमाडौं उपत्यका व्यापी गीत तथा नृत्य प्रतियोगितामा दाइको स्कुलले पनि सहभागिता जनाउन लागेको रहेछ । नृत्य त म सिकाइहाल्छु । एउटा गजबको गीत तयार गर्नु पर्यो, ल त निरञ्जन !’
निरञ्जन र गीत पर्यायवाची जत्तिकै थिए । बरिष्ठ लोकगायक मञ्छेश्वर सापकोटा (त्यतिबेलै रेडियो नेपालमा विशिष्ट श्रेणीका गायक) का छोरा हुन् उनी । आफैँमा सुमधुर स्वर भएका निरञ्जनलाई हामी आरआरमा पत्रकारिता भन्दा संगीत पढ्न सुझाव दिने गर्थ्यौँ । उनले पत्रकारिता नै पढे तर गीत-संगीत उनको रगतमै थियो, त्यसलाई पनि उनले कुनै न कुनै रूपमा निरन्तरता दिइरहे ।
अँ, ईश्वरले एउटा गीत तयार गर्न भने । अलिअलि कविता, गीतहरू आफू स्कुल पढ्दा देखिनै लेख्ने गरेको मलाई निरञ्जनले एउटा गीत लेख्न भने- ‘तिमी लेख, म लय भर्छु ।’ मैले ‘कोशिश गरौँला’ भनेँ । तर तत्काल हामी दुबैजना खासै सिरियस भएनौँ । त्यसको दुई-तीन दिनपछि हामी त्यो स्कुलमा जाँदा परशुरामले पनि जोड दिँदै भने – ‘ल है केटा हो प्रतिभा देखाउने बेला यही हो !’
‘हुन्छ’ भन्दै त्यहाँबाट फर्केपछि ‘एउटा गीत त अब लेख्नै पर्ने भो’ भन्ने मलाई पनि लाग्यो । तर मूड आएन । डेरामा पुगेपछि निरञ्जनले सम्झाए- ‘त्यो तिमीले अस्तिन एक दिन बाटोमा गुनगुनाएको गीत थियो नि एउटा … के रे के रे ? अँ, सिरिरी हिमाली हावाले … ‘
खोई के सन्दर्भमा हो कुन्नी, एउटा गीत लेख्दा लेख्दै मैले यत्तिकै एउटा लयमा गुनगुनाएको थिएँ । निरञ्जनले त्यतिबेलै ‘गर्छ केटोले…’ भन्दै गीत मन परेको छनक दिएका थिए । सुर-ताल केही थाह होइन, जे आयो त्यही गायो … । त्यसरी बनेको गीत थियो । नयाँ बनाउनाको अल्छीले हो या किन हो, निरञ्जनले ‘त्यही गीत दिऊँ’ भने । मलाई पनि के जोश चल्यो चल्यो ‘ल हुन्छ’ भनेर सहमति जनाएँ ।
अर्को दिन स्कुलमा गएर त्यही गीत पहिला परशुराम (भाईस प्रिन्सिपल प्रकाश सर)लाई सुनाइयो । उनले मन पराए । पछि प्रिन्सिपलले पनि सुनेर त्यही गीत फाइनल गरे । छानिएका प्रतिश्पर्धी विद्यार्थीहरूलाई त्यही गीत सिकाइयो । कुन सुरमा, के तालमा कसरी कसरी बनेको गीत प्रतियोगितामा जाने भयो ।
राष्ट्रिय सभा गृहको विशाल सांस्कृतिक हलमा उपत्यकाका विभिन्न विद्यालयबाट आएका प्रतिशपर्धीहरूको घुइँचोमा हामी हराए जस्तै थियौँ । केही अन्य विद्यालयका प्रतिश्पर्धीपछि हाम्राको पालो आयो । उनीहरूले गाए-
सिरिरी हिमाली हावाले, मनै उडायो हो मनै उडायो
नछोड भन्छिन् स्वदेश आमा, साहुको ऋणले झनै पिरायो … … …
विद्यार्थीहरूको प्रस्तुती सकिएपछि उद्घोषकले माइकबाट उदघोष गरे- ‘प्रस्तुत गीतका रचनाकार तथा संगीतकार हुन्, प्रकाश सापकोटा !’
पररर ताली बज्यो । मलाई नचिनेका कतिपयले त त्यो नाम सो स्कुलका भाइस प्रिन्सिपल ईश्वरका माइला दाजुकै हो भन्ठाने । किनकि हामीले परशुराम भनेर बोलाउने गरे पनि स्कुलमा उनले पहल्यै देखि नाम फेरेर ‘प्रकाश’ राखेका थिए । अर्थात उनको र मेरो नाम थर एउटै ! तर, त्यतिखेर उद्घोषकले नाम लिएको त्यो प्रकाश चाहिँ मै थिएँ ।
यसरी म जीवनमा एकपटक घोषित रूपमै संगितकार पनि भएको छु ।
Share the post "संगीतकार पनि भएँ म"
- Shares








तपाईंको प्रतिक्रिया